तनहुँ–१ उपनिर्वाचन

तनहुँ-१ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस

नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, रास्वपाबाट डा.स्वर्णिम वाग्ले र नेकपा एसबाट प्रतापलाल श्रेष्ठ उम्मेदवार बन्ने निश्चित
बिहीबार, चैत १६, २०७९

दमौली– तनहुँ क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

एमाले तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा पूर्वआईजीपी खनालसहित रामबहादुर गुरुङ, किरण धिताल, मोहन विक र सोझा गुरुङ र परितोश पौडेलको नाम सिफारिस गरेको हो । 

गत मंसिरको निर्वाचनमा विजयी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि हुन लागेको उपनिर्वाचनका लागि एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको हो।

यसअघि नै नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उठाउने निर्णय गरिसकेको छ। त्यस्तै, आजै कांग्रेस छाडेका डा.स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन लड्ने भएका छन् । 

त्यसैगरी, नेकपा एकीकृत समाजवादीले नेकपा (एमाले) छोडेका प्रतापलाल श्रेष्ठलाई सर्वसम्मत उम्मेद्वार भएको सार्वजनिक गरेको छ । जिल्ला कमिटीका अध्यक्ष श्रीराम कार्कीले प्रेस विज्ञप्ती जारी गरी श्रेष्ठ सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस भएको बताएका छन् ।

तनहुँ क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचन निकै तात्तिने आँकलन गरिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्