कांग्रेस छोडेलगत्तै रास्वपाबाट तनहुँ–१ मा उम्मेदवार बने डा.स्वर्णिम वाग्ले

आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने
बिहीबार, चैत १६, २०७९

काठमाडौँ– तनहुँ क्षेत्र नम्बर–१ मा हुने उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा.स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । 

नेपाली काँग्रेसबाट तनहुँ क्षेत्र नम्बर–१ मा हुने उपचुनावमा टिकट नपाएपछि आजै नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका वाग्ले आजै रास्वपाबाट उम्मेदवार हुने भएका हुन् । 

रास्वपाका नेता अरनिको पाँडेले आज सामाजिक सञ्जालमार्फत वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरेका हुन् । नेता पाँडेले ट्वीटरमार्फत रास्वपाबाट डा.वाग्ले उम्मेदवार भएको उल्लेख गरेका हुन् ।  

नेता पाँडेले लेखेका छन्, ‘प्रतिक्षा गर्दै, स्वर्णिम वाग्ले अन्ततः संसदमा निर्वाचित हुनु र देशको अर्थतन्त्रलाई मार्गदर्शन गर्ने आफ्नो क्षमता अनुसार जिउनु! शुभकामना, मेरो साथी! तनहुँ–१ भरि नै घण्टी बजोस् !’

गत मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि काँग्रेसको घोषणा पत्र लेखेका अर्थशास्त्री वाग्लेले आजै काँग्रेस परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो । उनले काँग्रेस महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालालाई सन्देश पठाउँदै काँग्रेस छोडेको जानकारी गराएका थिए ।

आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्