सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ : महासचिव गुरुङ

बुधबार, चैत १५, २०७९

कास्की– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढ्ने बताएका छन् । 

प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एक÷दुई दिनमै सरकार विस्तार भएर पूर्णता पाएसँगै विकासलाई अघि बढाइने बताए ।

महासचिव गुरुङले स्वास्थ्य, शिक्षा, रोजगार, आवासजस्ता जनताका मौलिक हक अधिकार पूरा गर्नुपर्ने दायित्व राज्यको भएको स्पष्ट पारे । 

उनले भने, ‘मौलिक हकको कार्यान्वयनका लागि मुद्दामा समानता हुने दलहरुसँग सहमति र सहकार्यका साथ अघि बढ्ने गरी मोर्चाबन्दी गरेका छौँ । वर्तमान सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गर्ने गरी सरकारले काम गर्छ ।’

महासचिव गुरुङले सहमति र सहकार्यको मोडलमा जानुपर्दछ भन्ने देशभक्त र राष्ट्रवादी शक्तिहरुको कार्यनीति रहेपनि साम्राज्यवादीले राष्ट्रिय सहमति हुन नदिने गरेको बताए । 

‘देशभक्त र राष्ट्रवादीको कार्यनीति सहमति र सहकार्य रहेको छ तर साम्राज्यवादी राष्ट्रिय सहमति हुन नदिने र एक दलले अर्को दललाई विस्थापित गर्ने नीतिका साथ अघि बढेका छन्, सत्ता पक्ष र विपक्षमा लैजान खोजिएको छ’, गुरुङले भने । 

माओवादी केन्द्रले राष्ट्रिय राजनीतिमा सहकार्यको नीति लिएको र मतभेद भए पनि सहमति भएको कुरा लागू गर्ने र मतभेद भएको थाति राख्ने गरी अघि बढेको उनले उल्लेख गरे ।

महासचिव गुरुङले स्वास्थ्यको हक जनताको मौलिक हक रहेकाले निःशुल्क स्वास्थ्य उपचार सेवाको विस्तारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १९:२९
प्रतिक्रिया दिनुहोस्