कर्णालीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

बुधबार, चैत १५, २०७९

सुर्खेत –कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार १७ चैतमा विश्वासको मत लिने भएका छन् ।  

विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गर्ने व्यवस्था मिलाइदिन मुख्यमन्त्री शर्माले सभामुखसँग आग्रह गरेका छन् ।

मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी प्रमाणित गर्न विश्वासको मत लिन लागेको जनाएका छन् । 

कर्णाली प्रदेशमा तत्कालिन एमाले माओवादी गठबन्धनबाट माओवादी नेता शर्मा मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश सभा प्रमुख सचिव जिवराज बुढाथोकीले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको जानकारी दिए ।

‘मुख्यमन्त्रीज्यूले १७ गते विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन गरिदिन सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभा सचिव बुढाथोकीले भने, ‘उहाँको पत्र आएपछि शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिनेगरी व्यवस्था गरिएको छ ।’

मुख्यमन्त्री बन्दा समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिन गालेका हुन् ।

२७ पुसमा नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

६ माघमा विश्वासको मत लिएका शर्मालाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र एक स्वतन्त्र गरी २५ सांसदले विश्वासको मत दिएका थिए । तर राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पुरानै गठबन्धन ब्युँतिएपछि राप्रपाले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो ।

यता नेकपा एमालेबाट सरकारमा सहभागी एक मन्त्रीले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा अहिले आफूसँग कुनै जवाफ नभएको बताएका छन् ।

कर्णाली प्रदेशमा नेपाली कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका १÷१ जना सांसद छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्