बालेनलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने– यो सरकार ५ वर्षसम्मै टिक्छ

बुधबार, चैत १५, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने दाबी गरेका छन् ।

आज न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

‘कामनपा प्रमुख बालेन्द्र शाहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो । तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईँढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्