भागबन्डा टुंगिएपछि मात्रै एकीकृत समाजवादीले मन्त्री तोक्ने

मंगलबार, चैत १४, २०७९

काठमाडौं –नेकपा (एकीकृत समाजवादी)ले पार्टीले पाउने मन्त्रालय टुंगिएपछि मात्रै मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने भएको छ । 

केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो लाग्न बाँकी रहेकाले अहिले नै पार्टीबाट जाने मन्त्रीहरूको नाम तोक्न नहुने निर्णय गरेको हो ।

प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले यो वा त्यो मन्त्रालय भनेका छैनौं, ३ वटा मन्त्रालय चाहियो भनेका छौं । अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन । भागबन्डा मिलेपछि प्रधानमन्त्रीले नाम माग्ने बित्तिकै दिनेगरी हामी तयारी अवस्थामा छौं ।’  

बैठकले तेस्रो वरीयताका नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

न्यौपानेले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध जथाभावी स्टाटस लेखेको, कार्यकर्ता भड्काएकोलगायतका विषयमा सात दिने स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

उनीमाथि नेकपा एमालेलाई सहयोग गरेको आरोप लाग्दै आएको छ । 

यसैगरी बैठकले उपाध्यक्ष केदार न्यौपाने र नेता चुडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ । 

पार्टीको हितविरुद्ध बोलेको भन्दै पार्टीभित्रै टिप्पणी सुरु भएपछि नेताद्वयले दिएको राजीनामा स्वीकृत गरेको उपमहासचिवसमेत रहेका प्रवक्ता खतिवडाले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्