दैलेखमा ५ हजार एसईई परीक्षार्थी

मंगलबार, चैत १४, २०७९

दैलेख –शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दैलेखका ५ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई दैलेखका अनुसार जिल्लाभर ५ हजार ७३५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । 

परीक्षामा नियमिततर्फ ५ हजार १८१, ग्रेडवृद्धितर्फ ४१२ र प्राविधिक धारतर्फका १४२ जना विद्यार्थी सहभागी हुने निमित्त इकाइ प्रमुख रतनबहादुर विस्टले जानकारी दिए । परीक्षाका लागि जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

निमित्त इकाइ प्रमुख विस्टका अनुसार परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ । ‘सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ, परीक्षा केन्द्र नजिकको प्रहरी चौकीमा प्रश्नपत्र पठाइसकेका छौँ, केन्द्राध्यक्ष नियुक्ती गरेर अभिमुखिकरण समेत भइसकेको छ,’ उनले भने । केन्द्राध्यक्षहरुलाई सोमबार अभिमुखीकरण गरिएको निमित्त इकाइ प्रमुख विस्टले जानकारी दिए । उनका अनुसार एसईई परीक्षा सञ्चालनका लागि निर्धारण भएको २४ वटा केन्द्रमध्ये २ वटा केन्द्रमा महिला शिक्षक केन्द्राध्यक्ष नियुक्त गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्