सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छः एमाले सचेतक बर्तौला

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन् ।

सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताएका हुन् । प्रतिनिधि सभा नियमावलीमा सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराउनु सांसदको सार्वभौम अधिकारको कुरा भएपनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्ने सचेतक गर्ताैंलाको भनाइ छ ।

उनले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने धारणा राखे । सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारीतामा गतिरोध उत्पन्न हुने उनको भनाइ छ । त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने सचेतक बर्ताैंलाले बताए ।

‘हामी सबैले बुझ्न के पर्छ भने सभामुख भनेको लिडर अफ द हाउस । हेड अफ द इन्स्टिच्युसन । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका । प्रतिनिधि सभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिंगो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो,’ सचेतक बर्ताैंलाले भने ।

उनले सभामुखले तटस्थ भुमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको पनि बताए । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने भन्दै उनले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडी बढ्दा संसद गतिहीन हुनसक्ने र अवरोधहरुको जञ्जालमा पर्नसक्ने बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्