कांग्रेसको पदयात्रा अभियान सुरु

आइतबार, चैत १२, २०७९

जनकपुरधाम– पार्टी सुदृढीकरणका लागि नेपाली कांग्रेसले मधेश प्रदेशमा ‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ अभियान सुरु गरेको छ ।  महोत्तरीबाट यो अभियान सुरु भएको हो ।

महोत्तरी कांग्रेस सभापति नागेश्वर यादवको नेतृत्वमा अभियान सुरु भएको हो । सभापति यादवको नेतृत्वमा ५० जना नेताहरूले जिल्लाको १५ वटै स्थानीय तहको १३२ वटै टोलमा पुग्ने योजनासहित खयरमाराबाट पदयात्रा सुरु गरेका हुन । 

संगठन सुदृढीकरणका लागि सुरु भएको पदयात्रा अभियान १५ दिनसम्म चल्ने छ । 

पार्टीका नेता तथा कार्यकर्तामा ऊर्जा बढाउन, समन्वय–सहकार्य गरी नेत,  कार्यकर्ता तथा जनताबीच आत्मियता बढाउने उद्देश्यले पदयात्रा सुरु गरिएको कांग्रेस नेता बजरंग नेपालीले बताए । 

महोत्तरीको १५ वटै स्थानीय तहमा पुग्ने गरी सुरु भएको पद यात्रा २५ चैतमा जलेश्वर पुगेर टुंगिने छ । 

जिल्ला तहको पदयात्रापछि निर्वाचन क्षेत्र, प्रदेश, निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहसम्मका छुट्टाछुट्टै पदयात्रा गरी महोत्तरीमा कांग्रेसको संगठनलाई सक्रिय बनाउने योजना रहेको नेता नेपालीले बताए ।

पदयात्रामा सहभागी भएका नेता कार्यकर्तालाई शुभकामना दिंदै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले महोत्तरीको अभियानले राजनीतिमा बढेको वैमनश्य हटाएर कांग्रेसले नै देश बनाउने सन्देश दिएको बताए ।

फरक–फरक ठाउँमा नेताहरूको १५ दिनसम्म सँगै बसाइले पार्टी भित्रको द्वन्द्वसमेत अन्तय हुने महामन्त्री यादवले विश्वास गरे ।

महोत्तरीको पदयात्रापछि सप्तरीको कोसी नदीदेखि पर्साको ठोरीसम्म पदयात्रा गरिने यादवले बताए ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्