सम्पन्न समाज निर्माणमा लागेका छौँ : अध्यक्ष ओली

आफ्नो सरकारका पालामा देशको आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको अध्यक्ष ओलीको दाबी
शनिबार, चैत ११, २०७९

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी समृद्ध समाज निर्माणको अभियानमा जुटेको बताएका छन् । 

कपिलवस्तुको सिद्धार्थ क्याम्पस आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्ध बनाउने योजना आफूले सुरु गरेको दाबी गरे ।

एमालेले देश व्यापीरूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियानअन्तर्गतको यस कार्यक्रममा अध्यक्ष ओलीले पार्टीलाई वैचारिक र  सङ्गठनात्मकरूपमा सुधार गर्ने एवं समृद्ध र सम्पन्न समाज निर्माण गर्ने उभियानमा पार्टी लागेको स्पष्ट पारे ।

उनले देशलाई गरिबीतर्फ धकेल्न खोजिएको आरोप लगाउँदै एमालेको सरकारका पालामा शुभारम्भ गरेका योजना आर्थिक सङ्कटमा परेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले आफ्नो सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोशी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्नेजस्ता महत्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको दाबी गरे ।

पार्टी कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई, समाजको नमूना योग्य, आदर्श नागरिक बन्न आग्रह गर्दै उहाँले पार्टीको उद्देश्य प्राप्ति गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । 

एमाले सचिव छविलाल विश्वकर्माले जनताका मुद्दालाई स्पष्टसँग बुझ्ने र जनताका कुरा सुन्ने काम मिसन ग्रासरुट अभियानमार्फत हुने स्पष्ट पारे ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २२:०१
प्रतिक्रिया दिनुहोस्