नेपाली कांग्रेसको बैठक

कांग्रेस सरकारमा जाने, सम्मानजनक संख्या पाउनुपर्ने शर्त

शनिबार, चैत ११, २०७९

काठमाडौँ– नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जाने भएको छ ।

पार्टी सभापति निवास धुम्वाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिट्टै सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरुले मन्त्रीमण्डलमा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले सम्मानजनक संख्या पाउनुपर्ने बताए । उनले कांग्रेसले पाउने संख्या र मन्त्रालयका बिषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसंग छलफल गर्ने र टुङ्गो लागेपछि नाम पठाउने जानकारी दिए ।

सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । बैठकले शान्ति प्रक्रियालाई अन्तिम टुङ्गो लगाउनका लािग पिडितहरुको भावनालाई पनि मध्यनजर राखेर यस सम्बन्धी कानून बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए । 

त्यस्तै, बैठकले बैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगाएतका बिषयमा छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय गरेको महतले बताए ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १९:३८
प्रतिक्रिया दिनुहोस्