कांग्रेसले अब एक्लै चुनाव लड्न सक्ने सामर्थ्य बनाउनुपर्छ : गगन थापा

पार्टीको बैठकभन्दा ३ गुणा गठबन्धनको बैठकमा बस्नुपरेको टिप्पणी
शनिबार, चैत ११, २०७९

बुटवल–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आम निर्वाचनमा  पार्टीले एक्लै चुनाव लड्न सक्ने सामर्थ्य बनाउनु पर्ने बताएका छन् ।

महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी पार्टी तयारीका साथ अगाडि बढिरहेको बताए ।

कांग्रेस क्षेत्रीय समितिले शनिबार भैरहवामा गरेको अन्तरक्रियामा थापाले भने, ‘अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ ।’ 

थापाले भने, ‘८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ ।’ उनले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई अझ मजबुत बनाउनु रहेको बताए । 

थापाले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको बताए । उनले नेकपा विघटन गर्ने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको चाहना नरहेको भए पनि नेकपाले ५ वर्ष खेर फालेको बताए । 

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न आग्रह नगरेको स्पष्ट पाररे । उनले भने, ‘केही साथी भ्रममा परेजस्तो छ । मलाई कसैले बोलाएर केही भनेको छैन । मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु, लडेर पाएको छु । साथीहरूको माया र शुभेच्छाले अगाडि बढेको छु ।’

महामन्त्री थापाले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने पनि बताए । पार्टीको बैठकभन्दा ३ गुणा गठबन्धनको बैठकमा बस्नुपरेको टिप्पणी गर्दै उनले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुनेगरी सरकार अघि बढ्नुपर्ने बताए । नेता थापाले भने, ‘कुनै क्षेत्र राम्रो छ भन्ने अहिले अवस्था छैन । जनतालाई सरकारले राहतको महसुस गराउनुपर्छ । एक महिनापछि ठिक भयो भन्ने सन्देश दिनुपर्छ ।’


 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्