कोसी प्रदेशमा तनाव, शनिबार एक घण्टा चक्काजाम

शुक्रबार, चैत १०, २०७९

धरान –कोसी प्रदेशको नामकरणको विरोधमा भएको आन्दोलनको क्रममा घाइते भएका आन्दोलनकारीको निधन भएपछि पहिचान पक्षधरहरूले थप आन्दोेलित भएका छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले शनिबार दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशभर एक घण्टा चक्का जाम गर्ने घोषणा गरेको छ । प्रदेश १ को १४ वटा जिल्लामा नै एक घण्टा चक्काजाम गर्ने संघीय लिम्बुवान मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए ।  

चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउ आन्दोलनको क्रममा सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर पदम लिम्बु (लाजेहाङ) गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार निधन भएको थियो ।

लिम्बुको निधनले पहिचान पक्षधरहरु थप आक्रोशित भएका छन् भने कोसी प्रदेश नामविरुद्धको आन्दोलन चर्कने र तनाव बढ्ने सम्भावना बढेको छ । पहिचान पक्षधरहरुले मृतक लिम्बुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने र क्षतिपूर्तिको माग अघि सारेका छन् । कोशी प्रदेश नाम खारेजी हुनुपर्ने पहिचान पक्षधरहरुको अडान छ । माग पुरा नभएसम्म मृतकको शव जिम्मा नलिने पनि उनीहरुले घोषणा गरेका छन् । मृतकको शव वीपी प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्