मिटरब्याजबाट पीडित किसानका समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन 

शुक्रबार, चैत १०, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजबाट पीडित किसानका समस्या समाधान गर्न निर्देशन दिएका छन् । मिटरब्याजीविरुद्ध आन्दोलनमा रहेका किसानहरूको समस्या समाधान गर्न सरकारले पहल सुरु गरिसकेको समेत उनले बताए । 

महोत्तरीको बर्दिबासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरूका समस्या समाधान गर्न र घर फर्किन गृहसचिवमार्फत प्रचण्डले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

सोही निर्देशन बमोजिम मकवानपुरका सिडिओ राजेन्द्रदेव पाण्डेले किसानहरूसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको मिटरब्याजीका विरुद्ध सरकारले मुद्धा पनि चलाइरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आग्रह गरेका थिए ।

सिडिओ पाण्डेसँगको छलफलमा पीडित किसानहरूले आफूहरू एउटा अभियानमा भएको र कानून नबन्दासम्म नफर्कने बताएका थिए । 

किसानहरूले सो अवसरमा काठमाडौँसम्मको यात्राका लागि आफूहरूलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न र सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानहरूलाई कम्बलको व्यवस्था गरेका थिए । 

पीडित किसानहरूको समस्या समाधान गर्न गृह मन्त्रालयले कानुन बनाउनका निम्ति कानुनको मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री प्रेस संयोजक शर्माले बताए ।

सरकारले ३ सय ५० जना मिटर ब्याजीहरूलाई कारबाही नै गरिसकेको प्रेस संयोजक शर्माको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्