Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायतका राजाको फ्रान्स भ्रमण परिवर्तन नहुने

शुक्रबार, चैत १०, २०७९


लन्डन– बेलायतका राजा चाल्र्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको बेलायत सरकारले बिहीबार जनाएको छ ।

‘पक्कै पनि हामी राजाको कार्यक्रमलाई परिवर्तन गर्नेगरी अर्को निर्णय गर्नेतर्फ लाग्दैनौँ । यो निर्णय उहाँहरूको (दरबार)को निर्णय हुनेछ,’ प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले पत्रकारहरूसँग भने, ‘मलाई यो योजना परिवर्तन गर्ने कुनै पनि योजनाबारे जानकारी छैन ।’ 

महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि चाल्र्स र उनकी पत्नी क्यामिला आइतबारदेखि बुधबारसम्म फ्रान्स र त्यसपछि जर्मनीमा जाने कार्यक्रम छ ।

चाल्र्सले राष्ट्रपति इमानुयल म्याक्रोनसँग पेरिसको आर्क डी ट्रायोम्फेमा स्मृति समारोहका लागि र भर्सालिज दरबारमा भोजका लागि दक्षिणपश्चिमको बोर्डोतर्फ प्रस्थान गर्नेछन् । 

फ्रान्सका केही विपक्षी राजनीतिज्ञले म्याक्रोनविरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुपर्ने तर्क गरेका छन् । चाल्र्सले फोहोरले भरिएका सडक र यातायात हडतालको सामना गर्नुपर्ने जोखिम छ ।

पेरिसस्थित बेलायती दूतावासका एक स्रोतले एएफपीसँग भन्यो, ‘हामी राजनीतिक रूपमा कसरी विकसित भइरहेको छ र सुरक्षा स्थितिमा कसरी सुधार भइरहेको छ भन्नेमा निगरानी गरिरहेका छौँ । यो भ्रमणसम्म जारी रहनेछ ।’

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्