हुलाकी राजमार्ग आयोजना सुस्त

वित्तीय तरलताले ठेकेदार समस्यामा, निर्माण सकिन अझै ४ वर्ष लाग्ने
बिहीबार, चैत ९, २०७९

काठमाडौं–राष्ट्रिय गौरवका हुलाकी राजमार्ग आयोजना निर्माण सुरु भएको दशकभन्दा बढी समय बित्दा समेत आयोजनाले अपेक्षित गति लिन सकेको छैन । आर्थिक वर्ष २०६६/०६७ देखि निर्माण सुरु भएको आयोजनाको हालसम्म ६० प्रतिशत मात्र निर्माणको काम सकिएको छ । 

पूर्व–पश्चिम, उत्तर–दक्षिण र सहायक सडक सञ्जाल गरी कुल १ हजार ७९२ किलोमिटर सडकमध्ये हालसम्म १ हजार ७५ किमी सडक मात्र कालोपत्रे भएको हो ।

अझै ४० प्रतिशत सडक मर्मत र कालोपत्रेको काम बाँकी छ । आयोजना निर्माण सुरु भएको १२ वर्ष बित्दा बल्ल ६० प्रतिशत काम भएको देखिन्छ ।

हुलाकी राजमार्ग आयोजनाका अनुसार पछिल्लो समय ठेकेदार कम्पनी वित्तीय तरलतामा फसेको छ । नगद प्रवाहमा देखिएको समस्याका कारण ठेकेदार कम्पनीले सोचेअनुसार काम गर्न सकेको छैन । बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाएको ठेकेदारको गुनासो छ ।

आयोजनाको ठेकेदार कम्पनी र कामदारहरूले वित्तीय तरलताका कारण समस्या परेको गुनासो गर्न थालेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले सिएन नेपाललाई जानकारी दिए । 

‘अहिले ठेकेदार कम्पनी र कामदारले नगद प्रवाहमा समस्या देखिएको गुनासो गरिरहेका छन् । यसले पनि उनीहरूले मन लगाएर काम गरिरहेका छैनन्,’ उनले भने, ‘उनीहरूलाई केही बजेट उपलव्ध गराइदिने हो भने कामले थप गति लिने अपेक्षा गरेका छौं ।’ 

चालू आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्म हुलाकी राजमार्ग आयोजनाले ६० प्रतिशत बजेट खर्च गरेको छ । सरकारले चालू आवमा आयोजना निर्माणका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

चालू आवमा २०० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य भए पनि फागुन मसान्तसम्म ४० किलोमिटर सडक कालोपत्रे भइसकेको उनले बताए । आव २०८०/८१ सम्म निर्माण गरिसक्ने लक्ष्य लिइएको हुलाकी आयोजना निर्माण गर्न अझै ४ वर्ष लाग्ने देखिएको छ । सुनसरी, कपिलवस्तु र धनगढीलगायतका क्षेत्रमा सडक विस्तार र मर्मत कार्य अघि बढ्न सकेको छैन् । ती क्षेत्रमा स्थानीयको अवरोध पहिलेदेखि रहँदै आएको छ ।

यता, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सडक विस्तार गर्न रेखाङ्कन परिवर्तन गर्नुपर्ने छ । निकुञ्ज क्षेत्र हुँदै सडक रुट लैजाँदा जंगली जनावर र वन क्षेत्रलाई असर गर्ने भन्दै वन मन्त्रालयले स्वीकृति दिएको छैन् । निकुञ्ज छलेर रुट परिवर्तन गरेपछि मात्र वन मन्त्रालयबाट स्वीकृत पाएको ढकालले बताए ।

यसरी हेर्दा, स्थानीयको अवरोध र निकुञ्ज क्षेत्रमा गरी कुल २११ किलोमिटरमा अहिले ठेक्का लाग्न नसकेको उनले बताए । २११ किलोमिटरबाहेक अन्य सडक सञ्जालको काम १ वर्षभित्र सम्पन्न हुने उनको भनाइ छ ।

‘ठेक्का लगाउन बाँकी रहेको र पुलबाहेकको काम आगामी आवभित्र सम्पन्न हुन्छ,’ उनले भने, ‘ठेक्काको अनुमति पायौं भने आव २०८३/०८४ सम्ममा सकिन्छ ।’ बाँकी ठेक्का समयमै लगाउन सकेमा करिब ४ वर्षभित्र आयोजना सम्पन्न हुने उनको भनाइ छ । 

हुलाकी राजमार्गअन्र्तगत विभिन्न ठाउँमा २१९ पुल निर्माण गर्नुपर्ने छ । जसमध्ये हालसम्म १५० भन्दा बढी पुल निर्माण भइसकेको आयोजना पक्षले जनाएको छ । कतिपय पुल निर्माणधीन अवस्थामा छन् भने कतिपय पुलको ठेक्का लाग्न अझै बाँकी छ ।

कुल ६५ अर्ब २० करोड रुपैयाँमध्ये हालसम्म आयोजनाको ५७ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । नेपाल सरकारको ५७ अर्ब २० करोड र भारत सरकारको ८ अर्ब रुपैयाँ यसमा लगानी छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्