छाडा चौपायाको व्यवस्थापन गर्दै देवचुली नगरपालिका

बिहीबार, चैत ९, २०७९

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो । 

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले छाडा चौपायाले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनको पहल गरिएको बताए । देवचुली–१० लोकाहा नदी किनारमा छाडा चौपायाको व्यवस्थापन गर्न लागिएको छ । सो क्षेत्रमा तारबार गरी छाडा चौपायालाई राखिएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका छाडा चौपाया नगर तथा स्थानीयको पहलमा जम्मा गरी लोकाहामा राख्न थालिएको न्यौपानेले जानकारी दिए । 

नगरका विभिन्न क्षेत्रबाट करिब एक सय गाई एकत्रित गरिएको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले बताए । केही गाई नगरपालिकालाई राजस्व तिरेर चितवनस्थित एक फार्मले लगेको छ । अहिले करिब ४०  गाई व्यवस्थापन केन्द्रमा छन् । नगरपालिकाले  गाईको आहाराका लागि पराल खरिद गर्ने गरको छ । 

छाडा चौपाया रेखदेख गर्न हेरालुको व्यवस्था गरिएको वडाध्यक्ष घर्तीले बताए । आहाराको व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । नगरभित्रका गाईबाहेक अन्य ल्याउन नपाइने रेखदेखमा खटिएका नारायण श्रेष्ठले बताए । स्थानीयले गाई यहाँ ल्याएर राख्न खोज्दा व्यवस्थापन गर्न गाह्रो भएको छ । ‘गाई राख्छ भनेर थाहा पाएपछि कतिपयले घरमा पालेको समेत ल्याएर छाड्ने गरेका छन्,’ उनले भने ।  
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्