जातीय विभेद र छुवाछूत विकासका लागि बाधक : माधव नेपाल

मंगलबार, चैत ७, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव सभ्यता विकासका लागि जातीय विभेद र छुवाछूत बाधक रहेकाले यस्ता विकृतिका अन्त्य गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले छुवाछूत र जातीय हिंसाविरुद्ध सबै एकजुट भएर सामाजिक न्याय, समानता, स्वतन्त्रताका माध्यमबाट शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने उल्लेख गरेका छन् ।

उक्त सन्देशमा शिष्ट र सभ्य समाज निर्माणका लागि जातीय हिंसा, छुवाछूतजस्ता विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । नेपाली समाजलाई यस्ता हिंसा र विभेदबाट मुक्त गरी समानता कायम गर्न आफ्नो पार्टीले लामो समयदेखि राजनीतिक गतिविधि गरेको भन्दै जातीय हिंसालगायत विकृतिविरुद्ध चेतनामूलक अभियानको खाँचो औँल्याइएको छ ।

संयक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्