प्रधानमन्त्रीले पाए विश्वासको मत

सोमबार, चैत ६, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । एमालेसँग बनेको सत्ता समिकरण भत्किए पछि प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

एमालेसँगको सहकार्य तोडेर प्रचण्डले नेपाली कांग्रेससहित विभिन्न १० दलहरुसँग मिलेर नयाँ गठबन्धनको सरकार बनाएका थिए ।  

सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत पक्षमा १७२ जना सांसदले मत दिएका थिए ।  प्रधानमन्त्रीलाई विश्वास मतको विपक्षमा ८९ जना सांसदले मत दिए । १ जनाले मत दिएनन् ।

कुल २७५ प्रतिनिधि सभा सदस्यमध्ये आजको संसदमा २६२ जना सांसद सहभागी थिए ।  प्रधानमन्त्री प्रचण्डले विश्वासको लागि १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८, माओवादीका ३२, रास्वपाका १९, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, राष्ट्रिय जनमोर्चाको १, नेपाल समाजवादी पार्टीको १ र आम जनता पार्टीको १ सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

७९ जना सांसद भएको नेकपा एमाले प्रमुख प्रतिपक्षमा बसेको छ । १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षमा बसेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिएका छन् । 

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई प्रतिनिधिसभाका दुई सय ७० सांसदमध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । यसअघिको सत्ता गठबन्धनमा विवाद भएका कारण एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था आएको हो । 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्