‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति संसद बैठकमा बिरोध

आइतबार, चैत ५, २०७९

काठमाडौँ– सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद बैठकमा विरोध भएको छ ।

शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए । आईतवारको संसद बैठकमा बोल्दै सांसदहरुले सो अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । 

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए । उनले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्फ ध्यानाकर्षण गराए ।

‘सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ, व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस्,’ सांसद खतिवडाले भने ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन– कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे ।

‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारहरुको बारे । अब हुनत पत्रकारहरुको बारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनुप¥यो । तर सबै पत्रकार त्यस्तो नहोला । कुन–कुन हो ? पित पत्रकारिता चलाउने । त्यो चाहीँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुप¥यो,’ सांसद सुवालले भने ।

उनले सभामुखबाट उठेको विषय सार्वजनिक महत्वको विषय भएको उल्लेख गर्दै बिक्री हुने पत्रकारहरुका बारेमा छानबिन हुनैपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्