सुदूरपश्चिम विश्वविद्यालयका ५ क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

आइतबार, चैत ५, २०७९

कैलाली –सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित ५ वटा क्याम्पसमा ८ चैतका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन अनिश्चित बनेको छ ।

केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन स्थगित भएको विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले जानकारी दिए ।

‘५ वटा क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको छ’, उनले भने ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले निर्वाचन समितको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थी सङ्गठनहरूले विद्यार्थी भर्नाका लागि २ दिनको समय तय गरी निर्वाचनलाई असफल र विद्यार्थीहरूलाई मताधिकारबाट बञ्जित गर्न खोजेको आरोप लगाएका छन् ।  अन्य विद्यार्थी सङ्गठनले भने निर्वाचन हुनुपर्ने माग गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयले भने ताला खोल्नका लागि पटक–पटक छलफल भएपनि सहमति जुट्न नसकेको जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्