‘अन्तराष्ट्रिय बजारमा घट्दा नेपालमा किन बढ्यो रासायनिक मलको मूल्य ?’

आइतबार, चैत ५, २०७९

काठमाडौँ– नेकपा (एमाले) ले रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

आईतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए ।

महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटिरहेका बेला नेपालमा किन वृद्धि गर्नु पर्‍यो भनि सरकारलाई प्रश्न समेत गरे । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि सरकारलाई दवाव दिए ।

‘अन्तराष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्य वृद्धि गर्ने काम गरेको छ । यो अत्यन्तै अनुचित छ । जबकि हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो,’ महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । कृषि क्षेत्रको विकासका लागि लागि पूँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्