बीमा गर्नेको सङख्या बढ्न सकेन

आइतबार, चैत ५, २०७९

दाङ–दाङका १० वटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ४ वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो ।

आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले कार्यक्रम लागू भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए ।

४ वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको संख्या बढ्न नसकेको उनको भनाइ छ ।

प्रमुख वलीका अनुसार जिल्लाका सबै १० वटै पालिकामा ३२ हजार ८ सय बढीले बीमा गरेका छन् । हालसम्म १६ हजार ९३३ महिला र १५ हजार ८६७ पुरुषले बीमा गरेका हुन् । सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा १५ हजार ५९१ बिमित छन् ।

तुलसीपुर उपमहानगरपालिकामा ७ हजार ७३८, लमही नगरपालिकामा १ हजार ७६७, बबई गाउँपालिकामा १ हजार ४३९, बंगलाचुली गाउँपालिकामा ६७५, दङ्गीशरण गाउँपालिकामा ८९७, गढवा गाउँपालिकामा ७७९, राजपुर गाउँपालिकामा ५३३, राप्ती गाउँपालिकामा १ हजार ४४३ र शान्तिनगरमा १ हजार ४० बिमित रहेका प्रमुख वलीले बताए ।

उनका अनुसार हालसम्म बीमा गर्नेमध्ये सामान्य परिवारका १७ हजार ८३३, ज्येष्ठ नागरिक १० हजार २३६, अति अशक्त १ हजार ३५२, महिला स्वास्थ्य स्वयंसेविका १ हजार १९१, एचआईभी संक्रमित २२८, एमडिआर टिभी १० र लेप्रोसी रोगका ४ जना छन्। ‘आर्थिक रूपमा समस्यामा परेका परिवारलाई उपचार सेवा लिन सहजताका लागि बीमा कार्यक्रम ल्याइएको भए पनि चेतनाको अभावका कारण बीमा गर्नेको संख्या बढ्न सकेको छैन’, प्रमुख वलीले भने ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा र बंगलाचुली अस्पतालले बीमा गरे बापत उपचारका लागि रकम उपलब्ध गराउँदै आएका छन् ।


 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्