ब्लग :

बा२ज २४४०

शनिबार, चैत ४, २०७९

त सोमबार साँझ निजी कामको सिलसिलामा धुम्बाराही जानु पर्ने थियो । हावाहुरी र फाट्टफुटट पानी परिरहेकै थियो । बिजुली चम्किरहेको थियो । गड्याङगुडुङ पनि गर्दै थियो ।

६ बजे धुम्बाराही पुगिसक्नु पर्ने । सवा ६ सम्म अफिसमै थिएँ । रेनकोट बोक्न छुटाएँछु । जानु त पर्ने नै थियो । त्यसैले स्कुटर लिएर निस्केँ, माइतीघरमा रहेको अफिसबाट ।

जिल्ला अदालत काठमाडौँनजिक पुगेपछि पानीले भिजाउँला जस्तो लाग्यो । स्कुटर छेउ लगाएँ । अनि जसलाई भेट्न जानुपर्ने हो, उनलाई फोन गरेँ । भनेँ– नआउँदा हुँदैन ?

उनले जसरी भए पनि आउनु न भने । 

जुक्ति निकालेँ– स्कुटर कतै राख्छु, ट्याक्सीमा जान्छु । जुक्ति त निस्क्यो । तर, स्कुटर राख्ने कहाँ ? 

सोचेँ, बानेश्वरमा एभरेष्ट होटलको पार्किङमा राख्छु, अनि ट्याक्सी चढेर जान्छु । गरेँ त्यसै । 

एभरेष्टको पार्किङमा स्कुटर राखेर वानेश्वर पानीट्यांकीअघि ट्याक्सी खोज्न थालेँ । पानी अलेली परिरहेको थियो । चाहिएको बेला ट्याक्सी पाइदो रहेनछ । 

अँ, एउटा कुरा भन्नै बिर्सेछु । निकै वर्षपछि पहिलोपटक ट्याक्सी चढ्न लागेको रहेछु । कति वर्ष भयो, ठ्याक्कै भन्न सक्दिनँ । तर, कम्तीमा पनि ३-४ वर्ष भएछ ट्याक्सी नचढेको ।

बल्ल एउटा खाली ट्याक्सी आयो– नयाँ वानेश्वर चोकतिरबाट । 

सोधेँ – धुम्बाराही जाने हो ?

हुन्छ – ट्याक्सीवालाले भने ।

अगाडिको सिटमा बसेँ । भरोसा मेडिकल नजिक पुग्दासम्म केही बोलिनँ । ट्याक्सीवाला पनि केही बोलेनन् । उनी गाडी चलाउँदै चुरोट तान्दै थिए ।

‘मिटर खोल्नु भएन त ?’ पहिलो वाक्य बोलेँ ।

‘छ त, तपाईंको बिल ६० रुपैयाँ उठिसक्यो’ ट्याक्सीवालाले भने । 

ट्याक्सीको मिटर खुट्टा राख्ने ठाउँनेर रहेछ, त्यसैले देखिनछु ।

‘चुरोट निकै खानुहुन्छ ?’ गफिन थालेँ ।

राति ट्याक्सी चलाउन थालेपछि बढी खाइदो रहेछ– उनले भने ।

अब ट्याक्सी चलाउँदाका उनका अनुभवका विषयमा कुराकानी चल्यो ।

‘अहिले ट्याक्सीमा कमाइ छैन, पहिला निकै हुन्थ्यो,’ उनले विगत सम्झिए । 

‘अहिले त दैलोबाट निस्कनेबित्तिकै होटल हुन्छ, अनि कहाँबाट हुन्छ ट्याक्सीको कमाइ ? पहिला कि धुलिखेल जानुपथ्र्याे, कि भैँसेपाटी, अनि पो हुन्थ्यो त,’ उनी दन्त्यकथा जसरी विगत सुनाउन लागे ।

‘त्यो बेला नै, भैँसेपाटी पुर्याएर आएको ५ हजार दिन्थे, खानाको व्यवस्था होटलले गथ्र्याे तर, रातभर बस्नु पथ्र्याे है, सुत्ने त ट्याक्सीमै,’ खिस्स हाँस्दै उनले भने ।

‘धुलिखेलको पनि त्यही हो । ओरेन्टल अगाडि (दरबारमार्ग) गएर बस्थेँ, ट्याक्सी पनि धेरै हुँदैनथे,’ उनले विस्तारपूर्वक सुनाएका थिए । 

ट्याक्सीवालाले उठाएको जताततै होटल, भैँसेपाटी र धुलिखेलको प्रशंग बुझ्नुभयो नि !

‘ट्याक्सी चढ्ने भनेको कि हतार भएर, कि त्यस्तै काम गर्नलाई हो, नत्र मान्छे ट्याक्सी नै चढ्दैनन्,’ उनको अनुभव बोल्यो सायद ।

‘अहिले मोटरसाइकलमा जान्छन्, जताततै होटल छन्, अलि भिआइपीलाई गाडी नै भाडामा लिएर घर वा अफिसबाटै लाने ल्याउने गर्छन्, ट्याक्सीवालाको विजोग छ अचेल,’ उनको यो प्रशंगको कहानी सकिएकै थिएन ।

अचेल त इलेक्ट्रिक ट्याक्सी आएको छ नि दाइ, त्यसमा बढी कमाइ हुन्छ कि!– मैले नयाँ लागेर सुझाएँ ।

‘३८ लाख रे, नम्बर प्लेट किन्न १० लाख, कहाँबाट ल्याउनु त्यत्रो पैसा,’ उनले इलेक्ट्रिक ट्याक्सी निकै महंगो भएको सुनाए ।

‘फाइदा त हुने रहेछ, यसमा दिनभरि गुड्यो भने हजारको पेट्रोल खान्छ, त्यसमा (इलेक्ट्रिकमा) ३ सयको विजुली लाग्छ भन्छन्,’ हिसाव सुनाए ।

अनि निकाले पेट्रोलपम्पको ठगीको प्रशंग ।

‘मैतीदेवी र जोरपाटीको पेट्रोलपम्म एउटै साहुको हो, बडोे फटाहा छ त्यो, ३ वर्ष जेल परेर निस्केको, पम्पले ७÷८ पइन्टसम्म खाइदिन्छन्, अनि घरप्पै मरिदैन त ?’ पेट्रोलपम्पले कम पेट्रोल दिने गरेको गुनासो सुनाए उनले ।

‘साझाको, आर्मीको र बत्तीसपुतलीको पट्रोेलपम्पले ठग्दैनन्, अरु त कुनले कति कम ठग्छन् भन्ने मात्रै हो, पेट्रोेलमा ठगी नगर्ने हो भने कहाँबाट हुन्छ त्यत्रो नाफा, पम्पको लाइसेन्स लिन किन त्यस्तो हारालुछ गर्छन् ?’ अनुभव र शंका घोलेर सुनाउदै थिए उनी ।

यति सम्वाद चल्दै गर्दा हामी पुरानो वानेश्वर र गौशालाको जाम कटेर जयवागेश्वरी पुग्यौँ । एकजनाले ट्याक्सी रोक्न हात हल्लाउँदै थिए । 

तिनलाई पनि लिएर जाऊ न उतै जाने रहेछन् भने– प्रस्ताव गरेँ ।

‘मिल्दैन, तपाईंले रिपोट गर्नुभयो भने मलाई कारवाही हुन्छ,’ उनले ट्याक्सी नियम सुनाए ।

रिपोर्ट गर्दिनँ भनेँ । 

‘तपाईंले भनेर भएन नि ! अहिलेका मान्छेको पेटमा हरि हुँदैन, उसले रिर्पोट गर्यो भने पनि फसिन्छ, छोड्दिनुस्, बोनसमा पाएको जीवन फेरि खतरामा पार्नु छैन,’ यसो भन्दै ट्याक्सीको स्पिड बढाए ।

बोनसमा पाएको जीवन ! मलाई भने उनको यो वाक्यांशले तान्यो । र, त्यसको व्याख्या सुनाउँन अनुरोध गरेँ ।

‘सिनामंगलमा प्यासेन्जर कुरेर बसिरहेको थिएँ, राति साढे १२ बजेतिर प्लेन आयो, दिल्लीबाट आएको हो जस्तो लाग्यो, त्यो बेला एयरपोर्टको भित्रैसम्म जान दिन्थ्यो, गएँ, ३ जना चढे, गैरीधारा जाउँ भने,’ उनले बोनसको जीवनवाला कहानी सुनाउन थाले ।

‘माथि लुगा राखेका थिए । लुगामुनी गन । एउटा त ठुलै कमाण्डर रहेछ माओवादीको । दायाबाया भयो भने सुट गर्नुपर्छ है कमरेड भन्दै थियो, त्यो कमाण्डर । संकटकालको बेला । रातिको समय । सडकभर आर्मी हुन्थे । ५ ठाउँमा चेकिङ, ओहो हो..हो.. हो,’ उनी ट्याक्सी छेउ लगाएर टाउको समाउँदै सुनाउन थाले ।

‘मैतीदेवी चोकबाट अलि अघि बढेपछि अब म शक्तिनँ हजुर भनेँ । उनीहरूले पनि अब हामी हिडेरै जान्छौं, नजिकै हो भने । हजारको नोट झिकेर दिए । अनि त ट्याक्सी फनक्कै फर्काएर सोझै पशुपति आएँ नि !’ छेउ लगाएको ट्यासी अघि बढाउँदै उनले भने ।

सोधेँ– पशुपति किन नि !

‘पशुपतिनाथले बचाएको त हो नि ! त्यसैले उनको दर्शन गर्न,’ उज्यालो अनुहार बनाएर जवाफ दिए । 

मलाई पनि हाँस उठ्यो । हासेँ । त्यो बेलाको संकटकाल, माओवादी र सेना सम्झेँ । अनि अहिलेका माओवादी, सेना र राज्य व्यवस्था । मज्जाले हाँसिदिएँ । 

गन्तव्यमा पुग्न लागिसकेको थिएँ । उनको घर काभ्रेको खरेलथोक रहेछ । नाम गोपाल खरेल भनेजस्तो लाग्छ । गाडीको अगाडि ट्याक्सी नम्बर राख्ने चलन रहेछ अचेल । उनको फोटो खिचिनँ । ट्याक्सी नम्बरको फोटो खिच्न मन लाग्यो ।

झर्नलाई ट्याक्सी रोकिसकेपछि सोधेँ– दाइ ! तपाईंको ट्याक्सी नम्बरको फोटो खिचौँ ? 

हुन्छ भने उनले । र, यो ब्लग लेख्ने बेलामा हेरेँ । उनको ट्याक्सीको नम्बर रहेछ बा२ज २४४० ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्