Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशी वायुसेवाद्वारा पाकिस्तानमा सेवा बन्द गर्ने चेतावनी

शुक्रबार, चैत ३, २०७९

काठमाडौं–पाकिस्तान आर्थिक समस्यामा फसेकाले अन्तरर्राष्ट्रिय वायुसेवाले पाकिस्तानमा उडानहरू सञ्चालन गर्न निकै सकस भएको बताएका छन् ।

उनीहरूले पाकिस्तानको आर्थिक संकटका कारण यहाँबाट डलर निकाल्न नसकेको जानकारी दिएका छन् । यसबाट विदेशी उडान कम्पनीहरूलाई पाकिस्तानभित्र आफ्नो सेवा सञ्चालन गर्न निकै कठिन भइरहेको छ ।

पाकिस्तान अहिले गम्भीर आर्थिक संकटमा फसेको छ । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति निकै घटेको छ र यो करिब ४ अर्ब डलर पुगेको छ । यति मात्र होइन, पाकिस्तानमा महँगी चरम अवस्थामा पुगेको छ ।

पाकिस्तानी कम्पनीहरूले विदेशबाट सामान आयात गर्न धेरै कठिनाइ सामना गरिरहेका छन् । यसबाट पाकिस्तान डिफल्ट हुने जोखिम उल्लेखनीय रूपमा बढेको विश्लेषकहरूले चेतावनी दिएका छन् ।

विदेशी वायुसेवाले पाकिस्तानमा स्थानीय मुद्रामा टिकट बेच्छन् । तेल किन्न र अरू खर्च गर्न उनीहरूले डलर बाहिर पठाउनुपर्छ । अन्तरर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसनले जनवरीसम्म अन्तरराष्ट्रिय वायुसेवाको २९ करोड डलर पाकिस्तानमा फसेको जनाएको छ ।

यसरी रकम फस्ने क्रम निरन्तर बढ्दो छ । विदेशी वायुसेवाको सबैभन्दा बढी रकम फसेका देशमा नाइजेरिया पहिलो र पाकिस्तान दोस्रो देश हुन् ।

गत महिना भर्जिन एट्लान्टिकले पाकिस्तानमा आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको थियो । उक्त वायुसेवाले बेलायत र पाकिस्तानबीच उडान भर्दै आएको छ ।

भर्जिनलाई पनि आफ्नो डलर निकाल्न समस्या भइरहेको थियो । अहिले अन्तर्राष्ट्रिय वायुसेवाले पाकिस्तानमा उडानबाट फाइदा नभएको चेतावनी दिएका छन् । यस्तो अवस्थामा वायुसेवाले अर्को देशमा उडान बढाउन सक्छन् ।

पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण मागिरहेको छ तर शर्त पूरा नगरेको भन्दै उसले ऋण दिइरहेको छैन । पाकिस्तानमा चीनको सबैभन्दा ठूलो ऋण छ, जुन लगातार बढिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्