तेस्रो उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादव को हुन् ?

शुक्रबार, चैत ३, २०७९

काठमाडौं-गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

दुई प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्य र ममता झालाई पराजित गर्दै उनी शुक्रबार देशको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

२०२७ साउन ९ गते बारा बसबरियामा जन्मिएका यादवले स्नातकसम्मको अध्ययन गरेका छन् । यादवकी श्रीमती चम्पादेवी यादव, दुई छोरा र एक छोरी छन् । 

यादवले वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसबाट गणितमा बीएड (२०५५) र भारतको मज्फ्फरपुरमा रहेको डा. बाबासोह भिमराव अम्वेडकर विश्वविद्यालयबाट गणित र विज्ञान विषयमा बीएससी (सन् १९९३) गरेका छन्।  

२०४८ सालसालमा शिक्षण पेशामा प्रवेश गरेका रामसहायको राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट भएको हो । उनी २०४६ देखि २०५२ सालसम्म सरस्वती नवयुवक क्लबको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य थिए । 

नेपाल सदभावना पार्टीको चौथो महाधिवेशन प्रतिनिधिका रुपमा खटिएका यादव २०५७ सालमा गिरफ्तारीमा परेका थिए । २०५९ मा मधेसी जनअधिकार फोरम, नेपालमा आवद्ध भएका उनी २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजक बने ।

२०६० सालमा मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य बनेका उनी २०६२÷०६३ को जनआन्दोलमा सक्रिय भएर लागे । आन्दोलनका क्रममा उनी काठमाडौंबाट गिरफ्तार परेका थिए ।

२०६२÷०६३ सालको मधेस जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारीमा पनि उनले काम गरेका थिए । 

२०६४ सालको पहिलो संविधानसभाको सदस्य निर्वाचित भएका उनी पहिलो संविधानसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यका रुपमा काम गरे । २०७२ साल मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको उनी महासचिव बने ।

२०७२ मधेस आन्दोलनमा निषेधाज्ञा तोड्ने क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका उनी २०७४ सालमा प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । 

२०७५ सालमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव, २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य बने । 

२०७८ सालमा वन तथा वातावरण मन्त्री बनेका यादव २०७९ को प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्