निर्माण व्यवसायीको उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री श्रेष्ठ

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुने गरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

उनले निर्माण व्यवसायीहरूले सम्झौता अनुसार काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने उनको भनाइ थियो । 

मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरूसँग ठेक्का रद्द गर्न सक्नेतर्फ पनि सचेत गराए । निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुनकुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरूले पनि जिम्मा लिएको काम सम्झौता अनुरूप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए । 

उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्यूनीकरण गर्नु सरकारको कार्यभार रहेको बताए ।

उनले निर्माण व्यवसायीहरूलाई आफ्नो निवासमा नभेट्ने भन्दै कसैको उपेक्षा नगरेको बताए । 

उनले व्यवसायीहरूसँग मन्त्रालयमा सामूहिक रूपमा मात्रै भेट्ने गरेको स्पष्ट पारे । मन्त्री र निर्माण व्यवसायीहरू मिलेर काम गर्नुपर्ने तर मिलेमतो गर्नु नहुने उनको भनाइ थियो । 

मन्त्री श्रेष्ठले आफूले कुनै पनि निर्माण व्यवसायी तथा पुँजीपतिसँग आजसम्म दैनिक जीवन चलाउन र चुनावी खर्चसमेत नलिएको बताए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्