विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : उपाध्यक्ष पोखरेल

शनिबार, फागुन २७, २०७९

सप्तरी– नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आज आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने उनले चेतावनी दिए ।

जिल्ला भेलालाई सम्बोधन गर्दै एमाले सचिव रघुवीर महासेठले आगामी चुनावमा एमालेले ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी तयारी सुरु गरेको बताए ।

एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले अवसरका लागि प्रयास गर्नु ठीक भए पनि अवसरवादी हुनु निन्दनीय रहेको बताए । भेलालाई प्रशिक्षण दिँदै बरालले समाजवादको पूर्वाधार बनाउन विद्यालय सुधार, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको लडाइँ लड्न कार्यकर्तालाई निर्देशन दिए ।

एमाले पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टी जनतालाई एकताबद्ध गराएर अघि बढ्न तयार रहेको बताए ।

एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सदस्य सरिता गिरी र राजकुमार लेखीले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दललाई एकताबद्ध हुन आह्वान गरे ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्