ल क्याम्पसको स्ववियु सभापतिमा मोहम्मद माजिद प्रवेजको स्वतन्त्र उमेदवारी 

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा मोहम्मद माजिद प्रवेजले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

कानूनमा स्नातकोत्तर गरिरहेका अधिवक्ता प्रवेजले आज ल क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

उनी नेपाल ल क्याम्पसमा स्नातकोत्तर दोस्रो समेस्टरमा अध्ययनरत छन्  । पेशाले  युवा कानून व्यवसायी रहेका प्रवेज अघिल्लो वर्षको कानून व्यवसायी परिक्षामा उत्कृष्ट भएका थिए । केही क्याम्पसमा अध्यापनरत प्रवेज विद्यार्थी राजनीतिलाई सुधार्न आफ्नो उम्मेदवारी भएको बताउँछन् ।

‘नेपाल ल क्याम्पस नेपालमा विधिको शासनलाई बलियो बनाउन भूमिका खेल्दै आएको ऐतिहासिक क्याम्पस हो,’ सभापतिमा उमेदवारी दर्तापछि उनले भने, ‘यो क्याम्पसबाट विद्यार्थी राजनीति कस्तो हुनुपर्छ भन्ने मानक स्थापित गर्न चाहन्छु । त्यसका लागि मेरो उमदवारी हो । शैक्षिक सुधार र विद्यार्थीको हकहित नै मेरो मूल मुद्दा हो ।’

प्रवेज ल क्याम्पसमा विद्यार्थीका शैक्षिक सवालमा खरो उत्रँदै आएकाले विद्यार्थीमाझ लोकप्रिय मानिन्छ । उनको उम्मेदवारीसँगै भावी सभापतिमा प्रवेजलाई जिताउन विद्यार्थीहरूले मत माग्न शुरू गरिसकेका छन् ।

चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्