उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोज्दैछ : अध्यक्ष ओली

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलिय गठबन्धनले जालझेल गर्न खोजेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलिय गठबन्धनले जालझेल गर्न खोजेको बताएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको उनले बताए । संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उनको भनाइ छ । 

‘सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने । अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा दश दलिय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ । स्थानीय तह निर्वाचनमा पनि उनीहरुले कानून छले । त्यो कानून छलेको कुरो कमसेकम राजनीति र राजनीतिक अनुहार फैसलामा नहेर्ने हाम्रा न्यायिक निकायहरु वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो, उनले भने, ‘तर त्यस्तो भइदिएन । संविधानले एउटा, एउटा हुनैपर्ने भनेपछि नभएर हुन्छ ? गर्नैपर्छ नि । अब आजसम्म पनि दश दलिय गठबन्धन जालझेल गर्न खोजिराखेको छ।’

अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलिय गठबन्धन बनाएका टिप्पणी गर्नुभयो । यद्यपी गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उनको भनाई छ । 

उनले भने, ‘हामीले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छौँ । एउटा अष्टलक्ष्मी शाक्यसँग लड्न अब ९ पार्टीले पुगेन, आज फेरि अर्को थपियो । १० पार्टी बनाए, अष्टलक्ष्मी आउनुभयो ।  आउ भाइ हो सबै मिलेर लडौँ भनेर । त्यहाँ जालझेल, प्रपञ्च अनेक प्रकारका छन् । अन्तिममा हामी एकातिर अरु एकातिर भएरै लडाइँ हुने हो ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थको नांगो दलाली गरेको बताए । दाहाल र नेपालले कम्युनिष्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको उनले बताए । 

उनले देशमा जातिय आधारमा नभई वर्गिय आधारमा आरक्षण दिइनुपर्ने बताए । जातिय रुपमा आरक्षण दिदाँ त्यसको दुरुपयोग भएको भन्दै उनले व्यक्तिको आर्थिक अवस्था हेरेर आरक्षण दिइनुपर्ने बताए ।
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्