चीनमा माओ पछि कै शक्तिशाली सी जिन्पिङको ऐतिहासिक तेस्रो कार्यकाल सुरु

शुक्रबार, फागुन २६, २०७९

काटमाडौँ–चिनियाँ नेता सी जिन्पिङले देशको ‘रबरस्ट्याम्प’ संसदबाट ऐतिहासिक रूपमा राष्ट्रपतिमा आफ्नो तेस्रो कार्यकाल सुनिश्चित गरेका छन् ।

यससँगै हुने शक्ति सञ्चयले ६९ वर्षीय सी कैयौँ पुस्तापछि चीनको सबैभन्दा प्रभावशाली नेता बनेका छन् ।

चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको भूमिका धेरैजसो आलङ्कारिक रहने गरेको छ ।

सीको शक्ति कम्युनिस्ट पार्टीको महासचिव र चिनियाँ सैन्य आयोगको अध्यक्षका रूपमा आउँछ ।

राष्ट्रपतिमा तेस्रो कार्यकाल हुने कुरा व्यापक रूपमा अपेक्षित थियो ।

आउँदा दिनमा नयाँ प्रधानमन्त्री र कैयौँ मन्त्रीहरूको नियुक्ति अझ महत्वपूर्ण रूपमा हेरिएको छ ।

नयाँ नियुक्ति पाउने सबैजना सी जिन्पिङका वफादार व्यक्तिहरू हुने ठानिएको छ । जसमा ली चियाङ सी जिन्पिङपछिका नेताका रूपमा रहने ठानिएको छ ।

सरकारविरोधी प्रदर्शनहरू निम्त्याएको सीको शून्य कोभिड नीतिबाट चीन खुला हुँदै गर्दा उनले आफ्नो शासनलाई मजबुत पारेका हुन् ।

‘टू सेसन्स’ भनिने नेसनल पीपल्स कङ्ग्रेस (एनपीसी) र चाइनिज पीपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का यस साताका बैठकहरूले चीनमा आउँदा वर्षको लागि कस्तो बाटो देखाउने भन्ने झलक दिने भएकाले तिनलाई चासोपूर्वक हेरिएका छन् ।

माओ त्सेतुङपछि चीनमा नेताहरू दुई कार्यकालसम्म पदमा रहने सीमा राखिएका थिए ।

सन् २०१८ मा उनले उक्त व्यवस्थालाई परिवर्तन गरेपछि उनी माओपछिको प्रभावशाली नेताका रूपमा देखिएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्