सी जिनपिङ लगातार तेस्रो पटक चिनियाँ राष्ट्रपतिमा चयन

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ –सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा चयन भएका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन् । 

चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) मा शुक्रबार करिब ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका हुन् । ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन् ।  

एक घण्टासम्म चलेको मतदान प्रक्रियाको मतगणना १५ मिनेटमा सकिएको थियो ।

सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति कति पटक बन्न पाउने भन्ने नियम खारेज गरेका थिए । यस निर्वाचनमा सी जिनपिङको जित निश्चित थियो ।

सोही समयमा नै सन् २०२३ मा सीले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो ।

सी चिनफिङले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन् । ३ वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण अहिले चीन आर्थिक संकटको सामना गरिरहेको छ ।

गत हप्ता सी जिनपिङले चीनको आर्थिक संकटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए ।

राष्ट्रपति चुनाव जित्नु धेरै हदसम्म औपचारिकता हो । सी जिनपिङलाई उनको पार्टीले केन्द्रीय सैन्य आयोगको अध्यक्षमा यसअघि नै चयन गरिसकेको छ । उनले चिनियाँ सशस्त्र बलको कमाण्डर–इन–चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार