प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो : महासचिव विप्लव

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई बिनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन् ।

शुक्रबार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए ।

उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको बताए । 

्उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्विकार गर्ने प्रवृतिसँग सम्बन्धित रहेको उल्लेख गरे । 

उनले भने, ‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो । अथवा गणतन्त्रलाई सम्पूर्ण रुपले  पश्चगामी र दलाल पूजिँपति वर्गको हातमा हाल्दिने षड्यन्त्र हो ।’

महासचिव चन्दले दाहालमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरु त्यसको प्रतिरोधमा उत्रेको बताए । उनले माओवादी घटकहरु एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्