वाणिज्य बैंक र लगानी कोषबीच सम्झौता

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषका बीचमा सहकार्य, कार्यगत एकता, आपसी सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा दुवै पक्षका बीचमा हुने विभिन्न किसिमका कारोबारलाई निरन्तरता दिने र दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउँदै डिजिटल प्रविधिको उच्चतम प्रयोगमा समेत जोड दिइएको छ ।

कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरूको योगदान रकम संकलन गर्नका लागि यस अघिदेखि राष्ट्रसेवक कर्मचारीहरूको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरूको सावधिक जीवन बिमा कार्यक्रमको कट्टी रकमलाई सिजिएएस प्रणालीबाट सहभागीहरूको कट्टी रकम पठाउँदै आएको छ ।

यस कार्यलाई निरन्तरता दिँदै कोषले विकसित गरेको वेबमा आधारित ई–सर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोषलगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरूको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले सम्बिसन नम्बर तथा कार्यालय कोड सहितको पेइमेन्ट सिल्प र आफ्नो चेक वा नगद बैंकका शाखाहरूमा पेस गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरूले सब्मिसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ हाउसको सफ्टवेयरमार्फत् बैंकमा रहेको कोषको खातामा जम्मा गरिदिने जनाइएको छ ।

यसले गर्दा रकम समयमै जम्मा भई हिसाब मिलान हुने तथा कर्मचारीहरूको खातामा सोझै रकमहरू जम्मा हुने हुँदा सहज हुने विश्वास गरिएको छ । उक्त कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे र बैंकका भुक्तानी तथा फछर्योट विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उपप्रमुख सरोज कोइराला र प्रबन्धक विमल जोशीको उपस्थिति थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्