झापामा पहिलो पटक फोहर जलाउने इन्सिनेरेटर सञ्चालन

शुक्रबार, फागुन २६, २०७९

झापा– झापामा पहिलो पटक शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहोर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । 

नगरको वडा– ७ मा २ बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहोर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए ।

प्रतिघन्टा ३०० केजी फोहोर जलाएर नष्ट गर्न सक्ने क्षमताको सो उपकरण २ वर्षअघि नै खरिद गरेर नगरपालिका कार्यालय परिसरमा राखिएको थियो । सो उपकरणले फलामबाहेक प्लास्टिकजन्य फोहोरलाई सुरक्षित रूपमा च्याम्बरभित्र जलाएर क्षणभरमै खरानीमा परिणत गरिदिन्छ ।

इन्सिनेरेटर खरिदमा १ करोड र व्यवस्थापन केन्द्र निर्माणमा १ करोड रुपैयाँ खर्च भइसकेको जनाउँदै यस परियोजनाका लागि सम्पूर्ण संरचना निर्माण गर्न १२ करोड लगानी हुने नगर प्रमुख मेगाहाङ थोप्राले जानकारी दिए ।

फोहोर छुट्याउने चेम्बर, गाडी पार्किङलगायत स्थल निर्माण गरेर १ महिनापछि फोहोर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याइने उनले बताए । फोहोर व्यवस्थापन केन्द्रभित्र आकर्षक बगैँचा बनाउने नगरको योजना छ ।

झापामा दमक, बिर्तामोड र मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै फोहोरमैला उत्पादन हुने गरेको छ ।

बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले कनकाईको जामुनखाडीमा फोहोरबाट जैविक ग्यास र कम्पोस्ट मल बनाउने संयुक्त परियोजना निर्माण गरेका छन् ।

दमकले एकल प्रयासमा फोहोरबाट जैविक ग्यास उत्पादन गर्न थालिसकेको छ भने मेचीनगरमा अहिलेसम्म खोला किनारमा जथाभावी फोहोर फ्याँक्ने गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार
फोहर जलाउन इन्सिनेरेटर जडान
शुक्रबार, फागुन २६, २०७९