विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’

शुक्रबार, फागुन २६, २०७९

सप्तरी– नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढंगबाट विद्युत् चोरी गर्नेमाथि निगरानी बढाएको छ । 

विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत् चुहावट नियन्त्रणको काम सुरु गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीका विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ तरहीका लक्ष्मीकुमार राय, श्यामकुमार मुखिया, श्रीप्रसाद साह, सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका–१ खुरु हुरियाका गणेशकुमार यादव, विष्णुशर्मा र शम्भुनाथ नगरपालिका–१२ सोनमाकायदुनन्द यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।

यसअघि यही फागुन १९ गते अनाधिकृत रूपमा विद्युत् उपभोग गरिरहेका विष्णुपुर गाउँपालिका–२ सिम्राहाका ७ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको थियो ।

शाखाले गरेको सर्च अप्रेसनमा कतिपयले घरमा मिटर राखे पनि बिजुलीको पोलमा हुकिङ गरी विद्युत् चोरी गरेको पाइएको छ ।

विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो ।

जाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ ।

विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेकाले ट्रान्सफर्मर जल्ने र विद्युतीय दुर्घटना हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्