राष्ट्रपति निर्वाचन : मतदान सकियो, केही बेर पछि मतगणना सुरु हुँदै

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- राष्ट्रपति निर्वाचनका लागि भएको मतदान सकिएको छ । बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म चलेको थियो । मतदान सकिए पछि दिउँसो ४ बजदेखि मतगणना सुरु हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीका अनुसार मतदानमा ८३२ जना सांसदले मतदान गरेका छन् । यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीले भाग लिएनन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ ३३३ मध्ये ३१४ मत खसेको छ। आयोगका अनुसार १९ मत खसेन । 
प्रदेश सभा सदस्यतर्फ ५ सय १८ मत खसेको छ।  

राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगले छलफल गरेपछि मतगणना सुरु गरिनेछ ।

मतगणनामा मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि भएको छ ।

सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने छ ।

मतगणना सुरु गरेर बिहीबार नै विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने निर्वाचन आयोगले जनाएको छ ।

संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूको मत अलगअलग गणना गरिनेछ । मतगणनास्थलमा उमेदवारका तर्फबाट एक÷एकजना मात्र प्रतिनिधि राख्ने सहमति पनि भएको छ ।

यसैबीच राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मगणनाका लागि प्रतिनिधि तोकिएका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार बनेका रामचन्द्र पौडेलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रतिनिधि तोकिएका छन् । 

नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका सुवास नेम्वाङका तर्फबाट एमाले सांसद महेश बर्तौला प्रतिनिधि तोकिएका छन् । 

राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार