राष्ट्रपति निर्वाचन : दिउँसो १ बजेसम्म खस्यो ६९४ मत

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ –राष्ट्रपति निर्वाचनका लागि जारी मतदानमा बिहीबार दिउँसो १ बजेसम्म ६९४ मत खसेको छ । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ २८५ र प्रदेशसभातर्फका ४०९ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

यसअघि अपरान्ह १२ बजेसम्म ४२१ मत खसेको थियो ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । मतदानमा संघीय संसद्तर्फ प्रतिनिधिसभाका २७२, राष्ट्रियसभाका ५९ र सातै प्रदेशसभाका ५५० गरी कूल ८८१ मतदाताले सहभागी छन् ।

संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन् । पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।

मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । बिहीबार नै बेलुका ७ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्