राष्ट्रपति निर्वाचन : मतदान जारी, ४२१ मत खस्यो

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ –राष्ट्रपति पदका जारी निर्वाचनमा अपरान्ह १२ बजेसम्म ४२१ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ बजेसम्म संघतर्फ २०२ र प्रदेशसभातर्फ २१९ गरी कूल ४२१ मत खसेको हो ।

बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । मतदानमा संघीय संसद्तर्फ प्रतिनिधिसभाका २७२, राष्ट्रियसभाका ५९ र सातै प्रदेशसभाका ५५० गरी कूल ८८१ मतदाताले सहभागी छन् ।

संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन् । पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।

मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । बिहीबार नै बेलुका ७ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्