राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने

सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँग हाम्रो फरक मत छ : अध्यक्ष लिङदेन
बुधबार, फागुन २४, २०७९

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको छ । 

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा तटस्थ बस्ने निर्णय गरेको गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी कार्यालय, धुम्बाराहीमा आज बसेको बैठकमा बोल्ने कार्यसम्पादन समितिका अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेका थिए । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क थियो ।

यसअघि धुम्बाराहीमा बसिरहेको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनलाई पार्टीका शीर्ष नेताहरुले राष्ट्रपति निर्वाचनमा कसैलाई भोट नहालेर तटस्थ बस्नुपर्ने दवाब दिएका थिए ।

बैठकपछि लिङदेनले राष्ट्रपतिको दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न नसकेको कारणले तटस्थ बस्ने निर्णय गरेको बताए । उनले भने, ‘सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँग हाम्रो फरक मत छ । त्यो आफ्नो ठाउँमा छ । तर, त्यो भन्दापनि राष्ट्रपतिलाई संविधानले संवैधानिक, सेरोमोनियल, अभिभावकीय, निष्पक्ष संस्थाको परिकल्पना गरेको छ ।’

राष्ट्रपतिका उम्मेदवार बनेका कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ सक्रिय राजनीतिमा रहेको लिङदेनको भनाइ छ ।

राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।

भोलि हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्