राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा, ‘वेटिङ रुम’को व्यवस्था

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– बिहीबार (भोलि) हुने राष्ट्रपति निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भोलि राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ । 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भएको बताए ।

उनले प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको बताए ।

ल्होत्से हल भित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुने पनि उनले जानकारी गराए । उनले मतदान बिहान १० बजेदेखि शुरु भइ ३ बजेसम्म हुने भन्दै ३ बजेपछि लामवद्ध हुन आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने स्पष्ट पारे ।

निर्वाचन अधिकृत पौडेलले मतदानका लागि लाइन बस्नुअघि संघीय सांसद र प्रदेश सांसदहरुलाई छुट्टाछुट्टै ‘वेटिङ रुम’ बनाइएको पनि जानकारी गराए ।

त्यस्तै मिडियाका लागि पनि ‘वेटिङ रुम’ को व्यवस्था गरिएको उनले उल्लेख गरे । उनले अपरान्ह ४ बजेदेखि मतगणनाको कार्य शुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य रहेको बताए ।

मत गणना सकिएसँगै ल्होत्से हलमै आएर मत परिणामको घोषणा गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्