राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र तयार

बुधबार, फागुन २४, २०७९

काठमाडौँ –बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र तयार भएको छ ।
निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनका लागि २ वटा निर्वाचन केन्द्र बनाएको छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन् ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३३२ जना र प्रदेशसभाका ५५० जना सदस्य मतदाता छन् । 
निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ ।
निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुलीलाई खटाइएको छ ।   
राष्ट्रपतिको निर्वाचनमा ९ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्