अन्नपूर्ण गाउँपालिकामा ३ वटा खानेपानी आयोजना सुरु 

बुधबार, फागुन २४, २०७९

म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिकामा एक करोड ४० लाख रुपैयाँको लागतमा तीनवटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट १०२ घरका ५११ जनसंख्या लाभान्वित हुनेछन् । 

कूल एक करोड ४० लाख १४ हजार ९३५ को लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा १०८ वटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रबन्धक बेलबहादुर गुरुङले जानकारी दिए । 

‘अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दाना बजार, द्वारी र ४ मा पटार खानेपानी आयोजना निर्माण सुरु भएको हो,’ उनले भने, ‘संस्थाले कूल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।’ 

यही फागुन महिनामा उपभोक्ता समितिसँग सम्झौता भएका आयोजना आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

कूल रु ६७ लाख ६७ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजना बाट निर्माण हुने ५१ धारा मार्फत २३० जनसंख्या लाभान्वित हुनेछन् । ४६ लाख ४० हजार ५५४ लागत अनुमान गरिएको द्वारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट ११२ र २६ लाख ७४ हजार ३१४ लागत अनुमान गरिएको पटार खानेपानी आयोजनाबाट निर्माण हुने ३१ वटा धाराबाट १५९ जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ । 

दानाबजार, द्वारी र पटारमा यसअघि बनेका खानेपानी आयोजनाको संरचना र वितरण प्रणाली जिर्ण हुँदा स्थानीयबासीलाई समस्या भएको थियो । सबै घरमा निजी धारासहितको खानेपानी आयोजना निर्माण हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । 

गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको १० वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाईको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए । 

खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ वटा विभिन्न निकायमार्फत निर्माणाधिन रहेका र मौजुदा सहित ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औँल्याइएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्