अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु : प्रधानमन्त्री दाहाल

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताएका छन् ।

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विकसित देशमा हाइड्रोजनको प्रयोगको मात्रामा गुणात्मक वृद्धि हुँदै गरेको तथ्य पेश गर्दै नेपाल पनि क्रमशः त्यसतर्फ अग्रसर हुने उल्लेख गरे ।

प्रधानमन्त्रीले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको जानकारी दिए ।

उनले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको बताए ।

निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य बिना आर्थिक विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले अगाडि बढाएका सबै आयोजनाको सहजीकरण गर्ने र समस्या समाधान गर्ने विश्वास दिलाए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्