राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित : कांग्रेस उपसभापति खड्का

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यधिक मतले जित्ने दाबी गरेका छन् । 

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गरे । 

उनले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताउँदै राष्ट्रपति निर्वाचनको व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको जनाए । 

गठबन्धनकै बलमा आगामी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र विस्तार गर्दै जाने पनि उनको भनाइ छ । 

यस्तै, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘आज प्रारम्भिक छलफल भएको छ, कुनै निष्कर्ष भएको छैन । गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको छ ।’

सरकार विस्तारका बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्