राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेका छौँ : अध्यक्ष लिङदेन

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले गर्ने बताएका छन् । 

सोमवार राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा पार्टी कार्यालय पुगेका नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राप्रपाले यस्तो बताएको हो । 

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले एमालेलाई पनि सोही कुराको अवगत गराएको जानकारी दिँदै २४ गतेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकको यसबारेमा निर्णय गर्ने स्पष्ट पारे ।

उनले राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेको उल्लेख गरे । 

‘आज खासगरी नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राष्ट्रपतिमा भोट माग्न आउनुभएको थियो । हाम्रो पार्टीको सहयोग रहोस् भनेर आग्रह गर्नुभयो’, अध्यक्ष लिङदेनले भने ‘हामीले २४ गते केन्द्रिय कार्यसमितिको बैठक बोलाएका छौँ, त्यसपछि निर्णय गर्नेकुरा राखेका छौँ । यही कुरा नेकपा एमालेलाई पनि भनेको छौँ । शुभकामना दियौँ । स्वागत गरेका छौँ । हामीले सिधा भन्ने अवस्थामा पुगेका छैनौँ । हाम्रो पार्टीले राष्ट्रपतिको निर्वाचनलाई शतर्कता पूर्वक हेरिरहेको छ ।’ 

पार्टीको गणित, दुई पक्षिय उम्मेदवारी र आम जनधारणा, हाम्रो शुभेच्छुकहरुको धारणालाई शतर्कताका साथ हेरिरहेको बताउँदै उनले भने ‘हामी यसैलाई मत दिन्छौँ भनिहाल्ने अवस्थामा पुगेका छैनौँ ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तिब्र बनाइरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १९:५०
प्रतिक्रिया दिनुहोस्