रामचन्द्र पाैडेल राष्ट्रपतिका रूपमा साेच्नै नसकिने पात्र : ओली

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले सभामुख हुँदा सांसदको अधिकार खोसेको आरोप लगाएका छन् । 

राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले पौडेललाई व्यक्तिगत रूपमा सम्मान गरे पनि सभामुखका रूपमा कामै नलाग्ने र राष्ट्रपतिका रूपमा सोच्नै नसकिने पात्र भएको तर्क गरे ।

यस्तै, उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी बाधक बनेको आरोप लगाए । ओलीले आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन बारम्बार भन्दा पनि ऐन कानुन बनाउन नदिएको आरोप लगाए । 

उनले बेपत्ता छानबिन तथा सत्य निरुपणसम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरूले व्यवधान खडा गरेको जिकिर गरे । 

ओलीले शान्ति प्रक्रियालाई अविलम्व टुङ्ग्याउनुपर्ने एमालेको धारणा रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

प्रशिक्षण कार्यक्रममा ओलीले पुस १० गते भएको सहमति तोड्दै राष्ट्रिय सहमतिको कुरा गरेर प्रचण्डले छल कुरा गरेको आरोप लगाए 

राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउनका लागि एमालेका राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति गर्न उनले आह्वान गरे ।

अहिले पाइला–पाइलामा संविधान मिच्नेहरूले नै संविधानमाथि खतरा भयो भन्दै वक्तव्यवाजी गरिरहेको उनको टिप्पणी थियो । 

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल सभामुख हुँदा सांसदको अधिकार खोसेको भन्दै ओलीले व्यक्तिगत रूपमा सम्मान गरे पनि सभामुखका रूपमा कामै नलाग्ने र राष्ट्रपतिका रूपमा सोच्नै नसकिने पात्र भएको तर्क गरे ।

ओलीले अहिले सरकारमा भएका दल र नेताहरू सत्ता स्वार्थका लागि राष्ट्रिय हितविपरीत काम गरिरहेको भन्दै यसलाई एमालेले रोक्ने बताए ।

नेकपा एमाले देश र जनताका साथै संविधानप्रति प्रतिबद्ध रहेकाले कुनै पनि भ्रममा नपर्न आफ्ना सांसदहरूलाई ओलीले आग्रह गरे ।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्