प्रिमियर लिग :

निर्दयी लिभरपुल, निरीह म्यानचेस्टर युनाइटेड

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– लिभरपुल आफ्नो सर्वकालीन प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि निर्दयी बनेको छ ।  इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले युनाइडेटको पोस्टमा एकपछि अर्को गोलको वर्षा गर्दै निर्दयी बनेको हो ।

अर्कोतिर प्रिमियर लिगकै सर्वाधिक सफल क्लब युनाइटेड भने लिभरपुलसामु निरीह बन्दै ७ गोल खाएको छ । यस क्रममा युनाइटेडले १ गोल पनि फर्काउन सकेन ।

घरेलु टोली लिभरपुलले पहिलो हाफमा भने १–० को मात्र अग्रता लिएको थियो । तर, दोस्रो हाफका ६ गोल थपेर ऐतिहासिक जित हासिल गर्यो ।

लिभरपुलका लागि मोहम्मद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोल गरे ।

पहिलो हाफको ४३ औँ मिनेटमा गोल गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको सुरुवाती ५ मिनेटमै न्युनेज र गाक्पोले लगातार गोल गरेपछि लिभरपुल ३–० ले अगाडि रह्यो । फेरि ६६ औँं मिनेटमा सलाहले अर्को गोल थपे ।

त्यसपछि पनि लिभरपुल रोकिएन । ७५ औँ मिनेटमा न्युनेजले तथा ८ मिनेटपछि अर्थात् ८३ औँ मिनेटमा नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे । खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनो गोल गरे । उनले बेन्चबाट आएर गोल गर्दै लिभरपुललाई ७–० को फराकिलो जित दिलाए । 

यस जितसँगै लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । लज्जास्पद हारका बाबजुद युनाइटेड भने २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०७:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार