माओवादी घटक एकताबद्ध हुन प्रचण्डको अपिल

माओवादीको एकीकृत शक्तिलाई कसैले रोक्न सक्दैन : प्रचण्ड

आइतबार, फागुन २१, २०७९

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका छन् । 

आईतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका हुन् । 

सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको प्रचण्डले बताए । उनले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरु समेटेको भन्दै एकअर्काको अनुभवहरुलाई आफ्नै अनुभवकोरुपमा लिएर एकताबद्ध हुनुपर्ने बताए । 

‘समय आएको छ । फेरि हामी माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपील गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहकोरुपमा अगाडी आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भंगालाहरुतिर विभाजित जस्तो भयो’, प्रचण्डले भने ।

पूर्व माओवादीहरु एकीकृत हुँदा बन्ने शक्तिलाई कसैले रोक्न नसक्ने प्रचण्डले बताए । 

‘हामी सबैले सबैका अनुभवलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीतामीठा, राम्रा, नराम्रा ति सबै हाम्रै हुन् भनेर हामीले आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ । यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्नसक्ने छैन’, उनले भने ।

एकताका लागि आफुले सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने एकताको प्रक्रिया निकै अघि बढिसकेको प्रचण्डले बताए ।

प्रचण्डले आफूमाथि राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा दबाब र घेराबन्दी भइरहेको र त्यसबिरुद्ध जनयुद्धका कमाण्डरको हैसियतमा लडिरहेको बताए । 

मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरु पनि विभिन्न घेराबन्दीकाबिरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर लड्नुपर्ने प्रचण्डले बताए । 

‘राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा विभिन्न खाले दबाब र घेराबन्दीको बिरुद्ध म जनयुद्धको कमाण्डरको हैसियतमा लडिराखेको छु भन्ने छ मलाई । विप्लव, बाबुराम, धर्मेन्द्र, किरणजीहरु पनि लडिराख्नु भएकै देख्छु आजभोली । पहिलेजस्तो छैन घटनाक्रमहरु । सबै आ–आफ्नै ढंगले हामी लडिराखेकै छौँ । हामी सबै लडाईं लडिराखेका शक्तिहरु एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ’, प्रचण्डले भने । 

प्रचण्डले आफु तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने लगायतका निर्णयहरु गराउन सफल भएको बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्