सरकारले देशलाई विदेशीहरूको खेल मैदान बनाए : ओली

शनिबार, फागुन २०, २०७९

काठमाडौँ –नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र देशलाई विदेशीहरूको खेल मैदान बनाउन चाहेको अध्यक्ष ओलीको आरोप छ ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो देशका लागि नै अति खतरनाक भएको दाबी समेत गरे ।

अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको टिप्पणी गरे ।

भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको पनि दाबी गरे ।

नेपाली मारेर भए पनि विदेशीहरूलाई खुशी पार्ने काममा सरकार लागेको आरोप लगाउँदै ओलीले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको बताए ।

अध्यक्ष ओलीले भने, ‘मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्र राष्ट्र चीन विरुद्ध गद्दारी हो’

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको पनि बताए ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्